क्यासिनो प्यालेसका फरार सञ्चालक विनय साह राजश्वको छानविनमा


 


काठमाडौं । दरबारमार्गस्थित बन्द रहेको होटल अन्नपूर्णमा अवैध रुपमा क्यासिनो चलाउने जनकपुरका विनय कुमार शाहमाथि राजश्व अनुसन्धान विभागले पनि छानविन थालेको छ ।

प्रहरीले फरार प्रतिवादीका रुपमा मुद्दा दायर गरेका शाह हालै राजश्वमा गएर बयान दिएका छन् ।

क्यासिनो प्यालेसमा क्रिप्टो तथा विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको आधारमा प्रहरीले छापा हानी साहसहित नौ जनाविरुद्ध गत फागुनमा मुद्दा दायर गरेको थियो ।

फरार रहेकै अवस्थामा राजश्वमा बयान दिएर कसरी छुटे भन्ने प्रश्न उठेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत १८ माघमा छापा हानी तीन कर्मचारीलाई पक्राउ गरेको थियो ।

बजार व्यवस्थापक ऋषव पावा, व्यवस्थापक गौरव चोप्रा र बजार प्रतिनिधि गुलाब सिंह परेकोमा अनुसन्धानको क्रममा सञ्चालककै निर्देशनअनुसार अनलाइन जुवा खेलाउने गरिएको खुलेको थियो ।

जस आधारमा सो क्यासिनोका सञ्चालक जनकपुरका विनय बहादुर साह र भारतीय नागरिक तरुण खत्तेरसहित नौ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

अनलाइन जुवाको कसुरमा मुलुकी अपराध संहिता तथा क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबारको कसुरमा नेपाल राष्ट्र बैंक ऐनअनुसार मुद्दा दायर भएको भएकोमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सञ्चालक साहले भने प्रहरी र अदालतमा सेटिङ मिलाउने प्रयास गरिरहेका छन् । सो क्यासिनोमा आबद्ध अन्य भारतीय सञ्चालकरू अशोक कुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायक समेत फरार छन् ।

क्यासिनो प्यालेस सञ्चालन गर्ने कम्पनी एटलान्टिक रिक्रियसन प्रालिका शेयरहोल्डर हुन् ।

पक्राउ परेका बजार प्रबन्धक पावाले सञ्चालकरूकै निर्देशनमा आफुहरुले अनलाइनमार्फत २४ अ‍ैं घन्टा जुवा खेलाउने गरेको बयान दिएका थिए ।

जबकी लाइभ जुवा खेलाउन मात्र सो क्यासिनोले अनुमति लिएको थियो । नेपालमा अनलाइन जुवा प्रतिबन्ध छ ।

त्यस्तै, उनको मोबाइलबाट बाइनान्स एप पनि भेटिएको थियो । जसमा ४० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार गरेको उनले स्वीकार गरेका छन् ।

अन्य मोबाइलमार्फत पनि क्रिप्टोको सो क्यासिनोबाट ठूलो कारोबार भएको हुनसक्ने आशंका गरिएपनि प्रहरीमा सेटिङ मिलाएर थप अनुसन्धान भएन ।

सो कम्पनीले वैदेशिक मुद्राको कारोबार गर्न समेत नेपाल राष्ट्र बैंकबाट अनुमति समेत लिएको थिएन । उसले सन् २०२० मै वैदेशिक मुद्रा कारोबारको इजाजत आफैंले निवेदन दिएर रद्द गराएको थियो । तर, नियमन नहुँदा क्यासिनोमा वैदेशिक मुद्राको अवैध कारोबार भने निरन्तर गर्दै आएको छ ।

सो क्यासिनोबाट प्रहरीले एक करोड बराबरको वैदशिक मुद्रा समेत बरामद गरेको थियो । सो मुद्दापछि पनि क्यासिनोमा अवैध गतिविधि रोकिएको छैन । विनय शाह क्यासिनो प्राइडका पनि सञ्चालक हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि छानविनको तयारी भइरहेको छ ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्