सडक मानवमुक्त बनाउने अभियान सफल पार्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको बताए।

प्रधानमन्त्री ओलीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहने बताए ।

सो अवसरमा घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उचित संरक्षण र पालनपोषण गर्दै आइरहेको मानवसेवा आश्रमका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापनपत्र समेत दिइएको थियो ।

भेटमा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नीति तथा कार्यक्रममा २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने सङ्कल्पलाई साकार पार्न मानवसेवा आश्रम सरकारको सहयोगी भई यस अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको बताए ।

हाल देशभर सात प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्