बंगलादेशमा रहेका विद्यार्थीलाई दूतावासले भन्यो – अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू


 


काठमाडौं । बंगलादेशस्थित ढाकामा रहेको नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ।

बंगलादेशमा कोटा विरोधी आन्दोलन चर्किएसँगै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सुरक्षित हुन काम पर्दा बाहेक नजान दूतावासले आग्रह गरेको हो ।

राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ,‘राजदूतावासले विकसित घटनाक्रमहरुलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरूको शान्ति, सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरू एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

दूतावासले आज जारी गरेको सूचनामा बंगलादेशको शिक्षा मन्त्रालयले अर्को सूचना जारी नहुन्जेलसम्म सबै सरकारी, नीजि विश्वविद्यालयहरू तथा कलेजहरू बन्द हुने सूचनाको पनि जानकारी दिएको छ ।

यस्तै कलेजले बसेको स्थान भन्दा अन्तै जाँदा कुनै असुरक्षा भएको महसुस भएमा दूतावासका अधिकारीहरू योजना बम्जन र रिया क्षेत्रीको नम्बर सूचनामै सार्वजनिक गरिएको छ ।

राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ । बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्