भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ


 


काठमाडौँ । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ गोकर्णेश्‍वर नगरपालिका-६ बाट पक्राउ गरेको हो ।

लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लिनरको काममा लगाई दिने प्रलोभन देखाई पीडितबाट ९५ हजार रुपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत झुट्टा र फरक-फरक बनाई पठाएको, कुवेतको एयरपोर्टमा पुगे पश्चात् पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गरेको र कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्