एमालेले लगायो मन्त्रीको टुंगो, यसपटक ‘हेभीवेट’


 


काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।

आइतबार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निजी निवासमा भएको छलफलमा मन्त्रीको नाम टुंगो लागेको हो । यसपटक मन्त्री बन्नेहरुमा हेभीवेट नेताहरुको नाम छ ।

मन्त्रीका लागि उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको छ । त्यसैगरी नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारी पनि मन्त्री बन्ने बताइएको छ । यद्यपि यी नाममा केही फेरबदल हुनसक्ने बताइएको छ ।

यसअघि कांग्रेस एमालेबिच मन्त्रालयको भागबन्डा आइतबार टुङ्गिएको थियो । एमालेको भागमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन् ।

त्यसैगरी कांग्रेसको भागमा गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्