सिलिकन फेस मास्कले चीनमा बढ्यो चिन्ता, यसरी हुँदैछ चोरीका घटना


 


बेइजिङ । चीनमा पछिल्लो समय अति वास्तविक देखिने सिलिकन फेस मास्क लगाएर शृङ्खलाबद्ध चोरीका घटना बढेपछि यस्ता प्रडक्टलाई वैध बनाइनु हुन्छ कि हुँदैन भनेर बहस चर्किएको छ । यही मार्चमा साङ्हाईमा चार वटा घर फोडेर चोरी भयो ।

यी घटनाको छानबिन गर्ने क्रममा ४० वर्षका एक पुरुषले वृद्धको सिलिकन मास्क लगाएर ती चोरीहरू गरेको प्रहरीले थाहा पायो । गएको महिना प्रहरीले चियाङ्सु प्रान्तमा भएका चोरीका घटनाहरूमाथि छानबिन गर्‍यो । यी चोरीमा पनि बिजुलीको काम गर्ने एक कामदारले नचिनियोस् भनेर सिलिकन मास्क लगाएर चोरी गरेको पाइयो ।

यी दुई चीनमा आपराधिक गतिविधिमा सिलिकन मास्कको बढ्दो प्रयोगको प्रतिनिधि घटना मात्रै हुन् । सक्कलीजस्ता देखिने सिलिकन मास्कको प्रयोगलाई कानुन बनाएर नियमन नगरेसम्म यस्ता घटनाहरू बढिरहने चेतावनी विज्ञहरूले दिइरहेका छन् । मास्क बनाउनु गलत नभएको सियामेन विश्वविद्यालयका वकिल लिउ चियोङ पनि भन्छन् । तर यसको प्रयोग नियमनको दायरामा आउनु पर्ने र सम्बन्धित अधिकारीहरूले फेस मास्कको ‘यथार्थता’लाई ग्रेडिङ गर्नु पर्नेमा उनी जोड दिन्छन् । अर्को समस्या के छ भने यस्ता मास्कहरू अनलाइनमा छ्यापछ्याप्ति विक्रीका लागि उपलब्ध छन् ।

क्रेताले दिएको डिटेल अनुसार जस्तो पनि मास्क किन्न पाइन्छ । सबैले चोरी चकारी वा अपराधकै लागि मास्क किन्छन् भन्ने चाँहि होइन । आफूलाई मन पर्ने सेलिब्रेटीको मास्क लगाएर अरूलाई झुक्क्याउन, साथीभाइसँग प्र्याङ्क गर्न वा सिलिकन मास्क वास्तवमा कस्ता हुँदा रहेछन् भन्ने उत्सुकताका कारण किन्न खोज्ने पनि छन् । केहीले अनुहार देखाए पछि मात्रै खुल्ने पती वा पत्नीको फोन अनलक गर्न पनि यस्ता मास्क किन्ने गरेका छन् । घरबाट काम गरिरहेको बेलामा आफू अफिसमै छु भनेर देखाउन पनि यसको प्रयोग भएको पाइएको छ । उच्च कोटीको सिलिकन मास्क २३ हजार युआन (३ हजार २०० अमेरिकी डलर) पर्छ । यो बनाउन एक महिनाजति लाग्छ । मास्क लगाएर स्मार्टफोन फेशियल रिकग्निशन पास गर्न सकेन भने केही विक्रेताहरूले पैसा फिर्ता पनि दिइरहेका छन् ।

आपराधिक गतिविधिमा सिलिकन मास्क प्रयोग हुने चीन एक मात्र देश भने होइन । सर्भिलियन्स सर्वत्र रहेका देशमा फेशियल रिकग्निशन प्रविधिलाई छल्न यसको प्रयोग व्यापक भइरहेका छन् । आपराधिक गतिविधिमा यसको प्रयोग बढ्न थालेपनि केही इ–कमर्श वेबसाइटहरूले सिलिकन मास्कको खोजीमा कैँची चलाएका छन् ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्