काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर लागूऔषध कारोबार, २० करोडको कोकिनसहित एक महिला पक्राउ


 


काठमाडौं । प्रहरीले झन्डै ६ किलो कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुम भादिभालोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी भालिभालु यसअघि आधा दर्जन पटक नेपाल आएको यात्रा अभिलेख भेटिएको छ । भालिभालु कोकिनको ‘पटके भरिया’ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आइतबार बिहान प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनको साथबाट ५ किलो ८२० ग्राम कोकिन बरामद गरेको छ ।

बरामद गरिएको ‘कोकिन जस्तै देखिने’ लागु औषध परीक्षण गर्न ल्याबमा पठाइएको छ ।

भादिभालोले ६ वटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैंकक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य २० करोड ३७ लाख हुने प्रहरीको भनाइ छ । उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११:२५ बजे काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

निजका साथबाट यही जुलाई १९ मा काठमाडौंबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशंका छ ।

कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । पक्राउ परेकी महिला मलेसियाको भाषामात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको प्रहरीले जनाएको छ ।

ती महिलाले कोकिन काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशंका छ । कोकिन लिन आउने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्