भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि जलेश्वरका मेयरले सम्हाले कार्यभार


 


काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेपछि निलम्बनमा परेका महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुनले आइतबारदेखि पुनः कार्यभार सम्हालेका छन्।

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उनीहरुले आजबाट पुनः कार्यभार सम्हालेका हुन् ।

उनीहरुसँगै वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आइतबार नै कार्यालय गएर कार्यभार सम्हालेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

असार २६ गते विशेष अदालतले १२ जनामध्ये मेयर, उपमेयर, तत्कालिन प्रमुख कार्यकारी अधिकृत र अधिकृत गरी चार जनाले सफाइ पाएका हुन् ।

विशेष अदालतले जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहलाई कैद तथा जरिवाना तोकेको छ भने उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जरिवाना तोकेको छ ।

आर्थिक वर्ष २०७९/८० मा वडा नं १ को बरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा बाटो ढलान कार्यमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाएपछि जलेश्वर नगरपालिकाका प्रमुख सोनार, उपप्रमुख खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन निलम्बनमा परेका थिए ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्