गृह मन्त्रालयमा मेरो नजर २४ सै घण्टा रहिरहन्छ : रवि लामिछाने


 


काठमाडौं । कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा आफ्नो आँखा २४ सै घण्टा रहने बताएका छन् ।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्। गृहमन्त्री लामिछानेले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताए।

गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित कार्यक्रममा लामिछानेले ठूला दलहरु मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खवरदारी गरे।

गृहमन्त्री लामिछानेले भने, ‘कयौं कुरा बाहिर आएका थिए, सरकार परिर्वतनसँगै सामसुम देखिन्छ । नेपाल प्रहरीले र सीआईबीले दतारुकताका साथ काम गरोस् । प्रतिपक्षमा छु यसपटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकी दुई ठूला दलहरु मिलेका छन्। आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा, मेरो मन २४ घन्टा रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको लामिछानेले उल्लेख गरे ।

टीकापुर घटनाको अनुसन्धानमा कमी नआओस् भनेर प्रतिपक्षमा बसेर नियालिरहने उनले बताए । आफ्नै मेरो विषयमा पनि धेरै कुरा उठेको छ, भोलि पनि उठ्ने लामिछानेले बताए ।

अब आफू प्रतिपक्षमा रहने भन्दै उनले राजनीतिमा नयाँ पुस्ता आइसकेको छ र जसरी चलेको छ, त्यसरी चल्दैन भन्ने महसुस गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्