त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि सशस्त्रका ९० जना परिचालन


 


चितवन । चितवनको सिमलताल पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरीले ९० जनाको सुरक्षा फौज परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोली परिचालन गरिएको हो ।

सशस्त्र प्रहरीको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ ।

त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी कार्य गर्नेछ ।

त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदल गस्ती गर्दै खोजी कार्यको लागि परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजी कार्य गर्न असहज भएको बताइएको छ ।

खोजी कार्यमा नेपाली सेना र नेपाल प्रहरीसमेत परिचालित रहेका छन् ।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्