त्रिशूली बस दुर्घटना : बिहानदेखि पुनः खोजी कार्य शुरू


 


काठमाडौं, असार ३० । त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज (आइतवार) बिहानबाट शुरू भएको छ ।

बिहान ७ बजेबाट पुनः खोजीकार्य शुरू भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शुरूकै दिनदेखि प्रहरीलगायत सुरक्षा निकायले बस तथा यात्रुको खोजी गरिरहेको छ । रातिको समयमा भने खाजी कार्य हुँदैन ।

प्रजिअ यादवका अनुसार आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।

यसैबीच बेपत्ता भएका बसका यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । शनिवार तीनवटा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् ।

शुक्रवार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्