एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै, सोमबार सपथ हुने


 



काठमाडौँ, २९ असार । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिनु भएको छ । राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् । 

चौथो पटक प्रधानमन्त्री हुन लाग्नुभएका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्नुहुने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरुले बताएका छन् । एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिनुभयो । पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् । 

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लाग्नुभएका उहाँले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोग्नुभएको थियो ।

प्रकाशित मिति: २९ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्