भानुभक्तीय रामायण वाचन प्रतियोगिता
दमौली तनहुँ, २९ असार । दुई सय ११औँ भानुजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुुभक्त क्याम्पस नेपाली विभाग दमौलीद्वारा आज विद्यालयस्तरीय खुला रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा विभिन्न १४ वटा विद्यालयबाट विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा शुक्ला माध्यमिक विद्यालय तनहुँकी छात्रा मन्जिता थापा प्रथम, गोगन माध्यमिक विद्यालय, तल्लो गगनगौडा कास्कीकी छात्रा सुजाता पौडेल द्वितीय, आदिकवि भानुुभक्त मावि दमौलीका छात्र सचिन बस्नेत तृतीय हुनुभयो । प्रतियोगितामा निर्मल मावि तनहुँँका छात्र दिपेश पन्तले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई क्रमशः रु एक हजार पाँच सय, रु एक हजार, रु सात सय र रु पाँच सय नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी विद्यार्थीलाई क्याम्पस प्रमुख महाप्रसाद हड्खले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली विभाग प्रमुख डा सुशीलप्रसाद वाग्लेले संयुक्त रूपमा पुुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुुभएको थियो । प्रत्येक वर्षको भानुजयन्तीका अवसरमा क्याम्पसले खुला रामायण वाचन प्रतियोगिता गर्दै आएको छ ।
आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँको चुँदी रम्घा गाउँमा दुई सय एघार वर्षअघि विसं १८७१ असार २९ गते भएको थियो । भानुजयन्तीलाई नेपालका साथै विदेशका विभिन्न स्थानमा पनि सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा मनाइने गरिन्छ ।
नेपाल मात्र होइन, नेपालीभाषी जहाँ–जहाँ पुगेका छन्, नेपालीभाषी समुदायमा उत्साहका साथ मनाइँदैछ । उहाँले आफ्नो ५४ वर्षको जीवनमा ‘रामायण’ लगायत ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘बधूशिक्षा’, ‘रामगीता’ र तीन दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाउनुुभएको थियो ।
प्रकाशित मिति: २९ असार २०८१, शनिबार