‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण


 



ललितपुर, २९ असार । पूर्वउपसचिव धनविक्रम सिंहद्वारा लिखित ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण गरिएको छ ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा कुलप्रसाद कोइरालाले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

पुस्तक विमोचन गर्नुहुँदै पूर्वउपकूलपति कोइरालाले ८२ वर्षको उमेरमा पनि पुस्तक लेखेर पूर्वउपसचिव सिंहले समाजलाई अमूल्य र गहनशील विषय प्रस्तुत गर्नुभएको बताउनुभयो । “लेखन शैली र पठन संस्कृतिले मानिसका कोशिकाहरूको पनि वृद्धि हुन्छ, पुस्तक लेख्नु भनेको जन्मिएको प्रमाण युगौँयुगसम्म पृथ्वीमा छोड्नु हो”, उहाँले भन्नुभयो ।

यस्तै, नेपाल सरकारका पूर्वसचिव शम्भु कोइरालाले मान्छेको आत्मसम्मानमा किताबले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै लेखनले शान्तिसमेत दिने धारणा राख्नुभयो ।

सामाजिक व्यक्तित्व डा ताराबहादुर कुँवरले लेखकसँग पारु किताब विमोचनका समयमा चिनजान भएको स्मरण गर्नुहुँदै किताबको शक्तिले मानिसलाई समाजमा परिचित गराउने धारणा राख्नुभयो ।साहित्यकार तथा पत्रकार विनोद दाहालले लेखकको तेस्रो पुस्तकमा नेपालको राजनीति, आर्थिक, सामाजिक क्षेत्रका विषयवस्तु समेटिएको र यो सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक धनविक्रम सिंहले आफूले श्री ५ को सरकार र नेपाल सरकारको सेवा गर्ने अवसर पाएको स्मरण गर्नुहुँदै कोरोनाको बेलादेखि लेख्न थालेका कुराहरूलाई पुस्तकमा उतारिएको बताउनुभयो । “सेवा गर्ने क्रममा धेरै जिल्लामा सेवा गर्न पाएँ, त्यसबाट धेरै कुरा सिकाइ र अनुभव पनि भयो । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दासम्म भ्रष्टाचार, अधिनायकवादी चरित्र, संसद् भङ्गलगायत घटनाहरू पनि देखिँयो । हिजो दरबारको प्रभाव र दबाब हुन्थ्यो तर अहिले त्यो छैन, यी कुराहरुलाई पनि पुस्तकमा समेट्ने प्रयास गरेको छु”, उहाँले भन्नुभयो ।

नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त हुनुभएका सिंहले यसअघि अन्तर्निहित अन्र्तध्वनि, पारु सामाजिक उपन्यास प्रकाशित गरिसक्नुभएको छ ।

प्रकाशित मिति: २९ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्