माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा
काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब महाप्रबन्धकमा सुभाष जमरकटेललाई बढुवा गरिएको छ ।
असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले आगामी साउन १ गतेबाट लागू हुने गरी उनीहरू दुवै जनालाई बढुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन सङ्कायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन र लघुवित्तजस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव छ ।
अर्यालले यसअघि सिभिल बैंक, सन्राइज बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न पदमा रहेर काम गरेका थिए ।
यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर शुरू गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आबद्ध छन् ।
जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रूपमा चिनिन्छन्।
उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक गरेका छन् ।
यसबाहेक उनले एशिएन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।
उनीहरू दुवै जना आफ्नो बैंकिङ करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा परिचित छन् ।
प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार