संविधान संशोधनमा खेलाँची नगर्न कांग्रेस-एमालेलाई प्रचण्डको चेतावनी


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा खेलाँची नगर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा खेलाँची नगर्न कांग्रेस-एमालेलाई चेतावनी दिएका हुन्।

उनले अस्थिरताको कारण देखाएर समानुपातिक अनि समावेशी प्रतिनिधित्व हटाउन खोजेको र र साना दलहरूलाई निषेध गर्न खोजेको बताए।

प्रधानमन्त्री प्रचण्डले साना दलहरू आज कांग्रेस एमालेतिर गए पनि भोली थाहा पाउने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर कांग्रेस एमालेले दलित, महिला लगायतले पाइरहेका अधिकार खोस्न खोजेको दाबी गरे ।

उनले राष्ट्रियसभामा माओवादी पहिलो दल रहेको स्मरण समेत गराए । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर कांग्रेस र एमाले ०४७ कै वरिपरि फर्किन खोजेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले चेतावनीको भाषामा भने,‘संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला। राष्ट्रियसभामा सबभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?तपाईंहरुको इच्छा ०४७ सालकै वरिपरि फर्किने होला भन्ने लाग्छ मलाई ।’

स्थिरताको नाममा समावेशी, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोजेको षड्यन्त्रको गन्ध आएको उनले बताए ।

कांग्रेस र एमालेले केही पश्चिमा देशको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउन खोजेको ‘ओपन सेक्रेट’ जस्तै रहेको भन्दै उनले साना दलहरुले किन समर्थन गरेको बुझ्न नसकेको बताए ।

उनले संविधान संशोधन गर्ने भए आफूहरु तयार रहेको भन्दै केही प्रस्ताव समेत अघि सारेका छन् ।

दलित समुदायको जनसंख्याको आधारमा अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने माओवादीको प्रस्ताव भएको उनले बताए ।

तर उत्पीडित जाती, वर्ग र समुदायलाई प्रतिनिधित्वविहीन बनाउने षड्यन्त्र किमार्थ सफल नहुने उनले बताए ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्