पाल्पाको कालिगण्डकी नदीमा भेटियो दुई जनाको शव


 


पाल्पा । पाल्पामा दुई जनाको शव फेला परेको छ।

कालिगण्डकी नदी र झडेवा खोलामा दुई जनाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहीबार दिउँसो पौने १ बजेतिर रम्भा गाउँपालिका- १ सर्दी स्थित कालिगण्डकी नदीको किनारमा एक पुरुषको शव फेला परेको थियो।

मृत अवस्थामा फेला परेका करिब ४०/५० वर्षको जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन। शवलाई पोष्टमर्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै बिहीबार दिउँसो १ बजे माथागढी गाउँपालिका-४ झडेवा खोलामा महिलाको शव फेला परेको हो। मृत अवस्थामा भेटिएकी महिला स्थानीय ७९ वर्षीय पदमकुमारी घर्ती क्षेत्री रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत शनिबार साँझ साढे सात बजेतिर खेतमा काम सकेर घर फर्किदै गरेकी घर्ती घर नपुगेपछि उनको खोजी भइरहेको थियो।

पानी परिरहेको र झडेवा खोला बढेर आएकोले खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हुन सक्ने आशंकामा परिवारले खोजी गरिरहेका थिए। बिहीबार फेला परेको शव घर्तीको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्