त्रिशूली नदीमा दुईवटा बससहित बेपत्ता भएका यात्रीहरुको नाम सार्वजनिक


 


काठमाडौँ। पहिरोमा परेर दुईवटा बससहित त्रिशुली नदीमा बेपत्ता भएका यात्रीहरुको नाम सार्वजनिक गरिएको छ ।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट रौतहट जाँदै गरेको बस पहिरोसहित त्रिशूली नदीमा खस्दा करिब ५१ जना बेपत्ता भएका छन्।

काठमाडौँ र रौतहट टिकट काउन्टरले प्रहरीलाई उपलब्ध गराएको विवरण अनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन्।

काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको बसमा ३१ र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको २१ जना यात्री रहेको विवरण खुलेको छ। काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंहसहित ३१ जना सवार थिए।

कलङ्की स्थित गणपति ट्राभल्स बस काउन्टरले दिएको जानकारी अनुसार काठमाडौँबाट रौतहटका लागि २७ जना यात्रुले टिकट काटेर बस चढेका थिए। बस काउन्टरले उपलब्ध गराएको चलानी नम्बरमा बस चढेकाहरूको ठेगाना, मोबाइल नम्बर र नाम खुलाइएको छ भने थर उल्लेख गरिएको छैन।

यस्तै वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बसमा २१ जना यात्रुको विवरण प्राप्त भएको छ। हालसम्म प्राप्त विवरण अनुसार बसमा ७ जना भारतीय नागरिक रहेका थिए।

काठमाडौँ बस काउन्टरबाट प्राप्त भएको विवरणको आधारमा घर परिवारमा सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्