भैरहवामा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान चिप्लियो


 


रूपन्देही । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।

बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको हो । जहाजको एकातर्फको चक्का माटोमा गाडिएको छ ।

जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताएका छन् ।

जहाज चिप्लिएपछि बुद्ध एयर र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका छन् । रनवेबाट बाहिर गएको जहाजलाई तानेर पार्किङ एरियातिर ल्याउने प्रयास भइरहेको छ ।

रनवेबाहिर पुगेको जहाज निकाल्न नसकिएपछि शुक्रबार बिहान अन्य उडान हुन सकेका छैनन् । अहिले वर्षाका कारण जहाजलाई निकाल्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्