कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी


 


टीकापुर । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए ।

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।

विसं २०८० मा डेङ्गीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ । डेङ्गीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ ।

यस वर्ष जिल्लामा स्क्रफटाइफस सात सय ३७ जनामा देखिएको छ । गत वर्ष पाँच सय २९ जना बिरामी उपचारमा आएका थिए । टीकापुरमा स्क्रफटाइफसका गत वर्ष ७३, लम्कीचुहामा तीन सय एक जना बिरामी थिए ।

स्थानीय पालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टका लार्भा नष्ट अभियान, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन् । टीकापुर अस्पतालका जनरल मेडिसिन दिलीपकुमार शाहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेङ्गी मानिसलाई पटकपटक भएमा जोखिम हुने बताए ।

“डेङ्गी पटकपटक हुनु जोखिम हुन्छ, डेङ्गी भएर जटिल अवस्था आएमा ज्यानसमेत जानसक्ने भएकाले नागरिक सचेत हुनुपर्छ”, उनले भने, “बर्षातका समयमा लामखुट्टेको टोकाइबाट बचेमा धेरै रोगबाट बच्न सकिन्छ ।”

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्