स्कुटर दुर्घटना हुँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते


 


पाल्पा । पाल्पामा ट्रक र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार बेलुका पाल्पाको तिनाउ–३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै स्कुटरको पछाडि सवारी विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते रश्मीको भने उपचार जारी भइरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्