ग्लोबल आइएमइ बैङ्कले जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गर्नुभएको छ ।
समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैङ्कले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ । बैङ्कले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरुलाई वित्तीय ब्यवस्थापनमा सहयोग पुग्नेछ ।
जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरण सहित बैङ्क को शाखा कार्यालयमा निवेदन दिए पश्चात् बैङ्कले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।
यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुको कलेज शुल्क, भिषा शुल्कलगायतका भुक्तानीका लागि विद्यार्थीहरुलाई बैङ्क तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गए पश्चात् विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आइएमईबाटै सरलताकासाथ पैसा पठाउन सक्नेछन् ।
प्रकाशित मिति: २६ असार २०८१, बुधबार