व्यवस्थापिका संसद्को बैठक बस्दै
काठमाण्डौ, माघ ७
व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिए पनि आजको कार्यसूचीमा समावेश गरिएको छैन । संविधान संशोधनका विषयमा दलहरुबीच सहमति जुटोस् भनेरै संसद बैठक एक हप्तासम्मको लागि स्थगित गरिएको थियो ।
तर यसबीचमा दलहरु माझ कुनै छलफल भएको छैन । सत्तारुढ दल पहिले संशोधन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् भने विपक्षी दलले निर्वाचनसम्बन्धी विधेयकलाई जोड दिएका छन् ।
दलहरु संशोधन विधेयक पास र फेल गराउने रणनीतिमा लागेकाले निर्वाचनसँग सम्बन्धित विधेयक प्राथमिकतामा नपरेको हो ।
प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार