संस्कृति पढ्ने विद्यार्थीलाई छात्रवृत्ति


 


काठमाडौँ, २६ असार । संस्कृति अध्ययन तथा अनुसन्धान परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनरत दुईजना विद्यार्थीलाई चारै सेमिस्टरका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ ।

यहाँ अध्ययनरत दुई विद्यार्थीलाई स्नातकोत्तर तह अध्ययन गरुञ्जेलको शुल्क बराबर रु ३७ हजार रकम छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ लोकगायक बमबहादुर कार्कीले जानकारी दिनुभयो । मङ्गलबार छात्रवृत्ति रकमको चेक त्रिवि संस्कृति विभाग प्रमुख डा महेशकुमार आचार्यलाई हस्तान्तरण गरिएको पनि उहाँले बताउनुभयो । छात्रवृत्ति संस्कृति विषयमा स्नातक तहमा सर्वाधिक अङ्कका साथ उत्तीर्ण भएका प्रमिला बोहरा र श्यामकुमार बोहरालाई प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष कार्कीले सांस्कृतिक कर्मलाई त्रिविको संस्कृति विषयका प्राज्ञिक कर्मसँग जोड्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

विभागीय प्रमुख डा आचार्यले समाजको अनुहार मानिने संस्कृति विषय पठनपाठनमा छात्रवृत्तिले थप आकर्षण बढाउने बताउनुभयो । उहाँका अनुसार विभागअन्तर्गत हाल ४० जना विद्यार्थी स्नातकोत्तर तहमा अध्ययनरत छन् भने करिब ५० जनाले विद्यावारिधि गरिरहेका छन् । विभागले अहिले स्नातकोत्तर तहका उत्कृष्ट शोधार्थीलाई बालकृष्ण रिजाल स्मृति छात्रवृत्तिसमेत प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्