संसदीय दलमा प्रचण्डको ब्रिफिङ – ओलीले जालझेल र षड्यन्त्रको राजनीति गरे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्रको राजनीति गरेको बताएका छन् ।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ‘ब्रिफिङ’ गरेका हुन्।
उनले तत्कालीन सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरे ।
कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर सार्वजनिक समाचारमा सत्यता नभएको प्रधानमन्त्री प्रचण्डले बताए ।
बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए ।
कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि आफूले तपाईं प्रधानमन्त्री बन्ने हो भने म राजीनामा दिन्छु भनेको उनले स्मरण गरे ।
तर ओलीले सरकारलाई प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिबारे टीओरआर बनाउने कुरा गरेर गठबन्धन फेर्न लागेको होइन भनेर भ्रमपूर्ण रुपमा आफूलाई आश्वस्त पारेको प्रचण्डले बताए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठगबन्धन गर्नुको आफ्नो उद्देश्य बामहरुको एकता भएको बताए ।
तत्कालका लागि हामीलाई नोक्सान जस्तो देखिएपनि यसले दीर्घकालमा एमालेलाई नै नोक्सान गर्ने उनको भनाई छ ।
प्रकाशित मिति: २६ असार २०८१, बुधबार