संयुक्त राष्ट्र संघमा मौका गुमाउँदै नेपाली सेना


 


काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सेना मौका गुमाउँदै गएको छ । नागरिकता लगायतका प्रमाणपत्रमा कैफियत देखिन थालेपछि राष्ट्र संघमा कार्यरत सेनाका अधिकृतहरू जागिरबाटै बर्खास्तीमा पर्न थालेका हुन् ।

योसँगै अन्तर्राष्ट्रिय फोरममा नेपाली सेनाको छविमा नराम्रो प्रभाव पर्न थालेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली सेनाको सैनिक सल्लाहकार पदमा कार्यरत रहन कर्णेल दिरेन्द्रकुमार मल्ल नागरिकतामा केरमेट गरेको आरोप लागेको थियो ।

त्यसपछि उनी जागिरबाट बर्खास्तीमा परेका छन् । अहिले उनको स्थानमा कर्णेल रोहित गुरुङलाई नेपाली सेनाले छनौट गरी पठाउने तयारी गरेको सैनिक स्रोत बताउँछ ।

चार महिना अघि न्यूयोर्कमा सैनिक सल्लाहकार पदमा नियुक्त भई गएका कर्णेल मल्लको नागरिकतामा रक्षा मन्त्रालयले कैफियत औंलाए पछि उनी केही हप्ता अगाडी मात्र जागिरबाट बर्खास्तीमा परेका थिए ।

नेपाली सेनाको तर्फबाट सैनिक सल्लाहकारमा नियुक्त भई कार्यरत व्यक्ति नै कारबाहीमा परी जागिर गएको अवस्थामा अन्तर्राष्ट्रिय फोरममा नेपाली सेनाको छविमा कस्तो प्रभाव पर्‍यो विवेचना गर्नु पर्ने हुन्छ ।

परिवार सहित न्यूयोर्क गएर बच्चा समेत विद्यालयमा भर्ना भइसकेको अवस्थामा अचानक उनलाई नेपाल बोलाई सैनिक प्रहरीको हिरासतमा राखी बर्खास्त गरिएको थियो ।

यसरी उनलाई बर्खास्त गर्नु भन्दा पहिले नै आवश्यक छानबिन नगरी कसको सिफारिस र जोडबलमा उनलाई न्यूयोर्क पठाइयो ? हाल संयुक्त राष्ट्र संघका लागि नेपाली सेनाको सैनिक सल्लाहकार पदमा जानका लागी तयार रहेका कर्णेल रोहित गुरुङको पनि नागरिकता, शैक्षिक प्रमाणपत्र सम्बन्धमा बेलैमा छानबिन नभएमा त्यही अवस्था दोहोरिन सक्ने सेनाको विशेष सूत्रले बतायो ।

यसैबिच, २०८२ साल वैशाख ९ गते अवकाश हुने उपरथी सागर थापालाई युएनको गोलानहाइट स्थित सैनिक मिसन प्रमुखमा पठाउने निर्णय भएको छ । उमेर हद रहेका अन्य योग्य जर्नेलहरू हुँदा हुँदै थापालाई नै सिफारिस गर्नु आफैमा ठुलो प्रश्न खडा भएको नेपाली सेनाका एक अवकाश प्राप्त प्रधानसेनापति बताउँछन् ।

स्मरण रहोस् यस अघि पनि सोही स्थानमा रथी ईश्वर हमाल अवकाश भएपछि कार्यरत रहँदा उनको कार्य प्रभावकारितामा ह्रास आएको स्वयं नेपाली सेनाका तत्कालीन अवस्थामा गोलानहाइटमा कार्यरत अधिकृतहरू अहिलेसम्म पनि टिप्पणी गर्ने गर्छन् ।

जर्नेल सागर थापा पनि रथी ईश्वर हमाल कै जस्तो परिस्थितमा गोलानहाइट प्रमुखमा नियुक्त हुन लागेकोले उनको नियुक्ति गर्नु सही गलत भए नभएको सेनाले मनन गर्न जरुरी छ ।

गोलानहाइट मिसनको सैन्य प्रमुखको जिम्मेवारीमा हालसम्म नेपाली सेनाकै रथी निर्मल थापा कार्यरत छन् । उनी पदावधि पूरा गरेर फर्कने भएपछि नेपाली सेनाले सागर थापाको मनोनयन गरेको हो । संयुक्त राष्ट्र संघका महासचिवको सैनिक सल्लाहकार ९मिलएड० पद विगत दुई तिन महिना देखि खाली रहेको अवस्था छ ।

विगतमा नेपाली सेनाको तर्फबाट युएनको उच्च पदमा रथी चित्र बहादुर गुरुङ मात्र पुगेका थिए । उनी डेपुटी मिलएड हुँदै महासचिवको सहायक मिलएडसम्म भएका थिए । उनी बाहेक हालसम्म सेनाको तर्फबाट कोही पनि उच्च पदमा पुगेका छैनन् ।

नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र संघका महासचिवको सैनिक सल्लाहकार (मिलएड) पद प्राप्तिको लागी पहल भएमा अन्तर्राष्ट्रिय जगतमा प्रभाव पारेका, सम्भावना र क्षमता भएका जर्नेल मध्यबाट खटाउँदा सेनाको अन्तर्राष्ट्रिय जगतमा ठुलो उपलब्धि हुनुका साथै शान्ति सेना मिसनको लागी समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्