झलनाथ खनाल प्रतिष्ठानको भ्रष्टाचार : पूर्वमन्त्रीसहित ५ जनालाई ८ वर्ष कैद फैसला


 


काठमाडौं, असार २५ । विशेष अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार यादवसहित पाँच जनालाई आठ वर्षका दरले कैद फैसला गरेको छ ।

अदालतले मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री यादव, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई आठ वर्षका दरले कैद सजाय तोकेको हो ।

मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारलाई विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप एक वर्ष एक महिनाको कैद सजाय ठहर भएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, उनीहरुबाट २ करोड ३५ लाखका दरले विगो असुल्ने र ३ करोड ५९ लाख ६६ हजार रुपैयाँका दरले जरिवाना तोक्ने फैसलासमेत भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नामबाट समेत भ्रष्टाचार भएको ठहर सहित सर्लाही लालबन्दीमा रहेको जग्गा र सवारीसाधन जफत गर्न आदेश दिएको छ ।

एन्टीस्नेक भेनमका लागि विनियोजन भएको बजेट अन्यत्र दुरुपयोग भएको अख्तियारको दावी थियो । सर्पपालन गरी त्यसबाट सर्पले डसेका बिरामीहरुका लागि उपचार गर्ने खोप बनाउने भनी झलनाथ खनालका नाममा स्थापित प्रतिष्ठानले प्रदेश सरकारबाट अनुदान लिएको थियो ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्