युद्धले समस्या समाधान गर्न सक्तैन– मोदी


 



मस्को । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ ।

“एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उहाँले भन्नुभयो, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।”

आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताउनुभयो । “एउटा सच्चा मित्रका रूपमा हामी सँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ”, उहाँले भन्नुभयो, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार खुला र विस्तृतरूपमा राख्न सकेकामा मलाई खुशी लागेको छ ।”

रुसले युक्रेनका सहरहरूलाई लक्षित गर्दै तीन दर्जनभन्दा बढी मानिसको ज्यान लिएको र किएभको बाल अस्पताललाई ठूलो क्षति पुर्याएको केही घन्टापछि मोदी सोमबार मस्को पुग्नुभएको थियो । उक्त आक्रमणको युरोप र उत्तरी अमेरिकाका सरकारहरूले निन्दा गरेका छन् ।

“मलाई थाहा छ, युद्धले समस्याको समाधान गर्न सक्तैन, समाधान र शान्ति वार्ता बम, बन्दुक र गोलीमा सफल हुनसक्तैन, साथै हामीले वार्तामार्फत शान्तिको मार्ग खोज्न आवश्यक छ”, मोदीले भन्नुभयो ।

रुस भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता हो तर पश्चिमबाट मस्कोको एक्लोपन र बेइजिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको साझेदारीलाई असर गरेको छ ।

 हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्