वर्ल्डलिंकको ‘बिट द स्पीड’ : नेपालकै फास्टेस्ट बलरमा प्रदीप जैसवाल


 


काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लि.ले नेपाल क्रिकेट संघको सहकार्यमा सुरु गरेको ‘बिट द स्पीड’स् नेपालकै फास्टेस्ट बलरको उपाधि प्रदीप जैसवालले जितेका छन् । सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करणमा जैसवाल विजयी भएका हुन् ।

यो २ महिना लामो रोमाञ्चक अभियान, २१ वैशाख २०८१ मा सुरु भएको थियो, जसले नेपालका १८ सहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो ।

नेपालका १८ सहरहरूबाट उत्कृष्ट ७ जना खेलाडीहरूलाई काठमाडौंमा दोस्रो चरणको प्रतिस्पर्धाका लागी ल्याइएको थियो । उनीहरूले नेपाल ए टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए ।

अन्तिम चरणको प्रतिस्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए । निर्णायकले खेलाडीहरूको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्याङ्कन गरेका थिए ।

सो, प्रतिस्पर्धामा प्रदीप जैसवालले १२५ किमी प्रति घण्टाको नयाँ कीर्तिमान बनाउँदै यस प्रतियोगितामा जित हासिल गर्न सफल भए । सन्देश थापा र राहुल कुमार यादवले क्रमशः १२२ किमी प्रति घण्टा र १२१ किमी प्रति घण्टाको गति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

भावी सम्भावनाको पहिचान गर्दै प्रतिस्पर्धी रवि दमाईलाई ‘इमर्जिङ्ग ट्यालेन्ट’ को रूपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । वर्ल्डलिंकको यस ‘बिट द स्पीड’ अभियानको विजेता प्रदीप जैसवालले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारत स्थित चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन् ।

१२१ किमी प्रति घण्टाको गतिमा बलिङ्ग गरेका १४ वर्षीय राहुल कुमार यादवलाई पनि दर्शकहरूले निकै रुचाएका थिए । साथै, उनको बलिङ्ग एक्सनलाई धेरै दर्शकहरूले “लसिथ मलिङ्गा”सँग समेत तुलना गर्दै भविष्यमा उनी एक उत्कृष्ट खेलाडीका रुपमा स्थापित हुने सम्भावना रहेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्