एमालेसँग मिल्नु नै प्रचण्डको सत्ता बर्हिगमनको कारण हो : केसी


 


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै क्षेत्रमा सबल हुनेवाला रहेको भन्ने स्वर सुनिरहेको बताए ।

तर, आफूले नेपाली कांग्रेस र नेकपा एमालेसँग लामो समयदेखि संगत गरेकाले खेल सबै बुझेको उनले बताए ।

अध्यक्ष केसीले भने,‘सानो पार्टी, वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । तपाईं पुस १० गते जहाँ पुग्नुभयो त्यही दिनदेखि तपाईंलाई दशा सुरु भएको थियो । त्यो बुझ्नु भएन । यसो भन्दा नराम्रो लाग्ला– तपाईं कति चोटी बालकोट जानुभयो ? कतिपटक बूढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति ?’

तर प्रचण्डले खेल बुझ्न नसकेको उनले बताए । पछिल्लो पटक कांग्रेससँगको समीकरण बदलिएर एमालेसँग समीकरण बनाउँदा प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनका लागि नगरिएको उनले बताए ।

एमालेसँगको समीकरणपछि मन्त्रिपरिषद् गठन हुँदै यसको दृश्य देखिएको उनको दाबी छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिसिनु नै प्रचण्डको सत्ता बर्हिगमनको कारण भएको उनको भनाइ छ ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्