जयेन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप, दुई जना फरार


 


बाँके । जयेन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप भएको छ।

बाँकेको डडुवा गाउँपालिका ६ स्थित सुधार गृहमा खाना खाने विषयमा कैदीबन्दीबीच झडप भएको हो।

झडपपछि ६० जना कैदीबन्दीहरू सुधार गृहबाट निस्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तीमध्ये ५८ जनालाई नियन्त्रणमा लिइसकेको छ। २ जना कैदीबन्दीको अझै खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म फरार रहेका दुई जना डेढ वर्षदेखि सोही बाल सुधार गृहमा बस्दै आएका थिए।

लामो समयदेखि सुधार गृहमा बस्दै आएका बालबालिकाहरूले आ-आफ्नो समूह बनाएका छन्।

तीमध्ये चार जनाको समूहले चौकीदारलाई कुटपिट गर्ने क्रममा झडपले बृहत् रूप लिएको हो।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्