रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, मुकुलको विषयमा छलफल हुने


 


काठमाडौं, असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।

बिहान ८ बजे केन्द्रीय समिति बैठक पार्टी कार्यालय बालाजुमा बस्ने बैठकले निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही गर्ने वा नगर्ने लगायतका विषयमा छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतलगायतका विषयमा पनि छलफल हुनेछ ।

रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री ढकालमाथि कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन आयोगले यसअघि नै सभापति रवि लामिछानेलाई बुझाएको थियो ।

१९ असारमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई पार्टीको महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्