एमालेलाई एक्ल्याउने प्रचण्डको षडयन्त्रपछि नयाँ समीकरण बन्यो : महेश बर्तौला


 


काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले एमालेलाई एक्ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को षडयन्त्रपछि नयाँ समीकरण बनेको बताएका छन् ।

तिनिधिसभा बैठकमा बोल्दै एमाले सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीलाई एक्ल्याउने र कमजोर बनाउने प्रचण्डको षडयन्त्रपछि कांग्रेससँग नयाँ समीकरण बनेको बताए ।

प्रचण्डको उथलपुथलबादी सोचका कारण नै आफूहरू सरकारबाट बाहिरिनु परेको सचेतक बर्तौलाको भनाइ छ ।

उनले सत्तामा सँगै रहेको दललाई एक्ल्याउने प्रचण्डको दूषित मनसाय रहेको आरोप लगाए ।

सचेतक बर्तौलाले भने, ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो– यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले-कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै । म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु– तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’

सचेतक बर्तौलाले प्रचण्ड एमालेलाई एक्लाउने दूषित खेलमा लागेको आरोप लगाए ।

उनले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रचण्डको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्