महोत्तरीमा गोली हानेर युवकको सिक्री लुट्ने दुई जना पक्राउ


 


महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले युवकलाई गोली प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका-२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन् ।

पक्राउ परेका आरोपित दुवैजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

गत जेठ २८ गते गौशाला नगरपालिका-५, मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनयकुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो ।

घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो ।

घटनापश्चात आरोपित दुवैजनाले लगाएको कपडा पहिचान लुकाउनको लागि महोत्तरी पिपरा गाउँपालिका-६ रतौलीस्थित खेतमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ ।

दुबैजना १. प्र.२-००९ प २८६१ नं. को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।

अनुसन्धानका क्रममा दुबैजना यसअघि पनि विभिन्न मुद्दामा जेल चलान भएर छुटिसकेको खुलेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्