सुन तस्करीमा वाल्डो क्यासिनोका सञ्चालकविरुद्ध पनि मुद्दा दायर


 


काठमाडौं । ६० किलो सुन तस्करीमा वाल्डो क्यासिनोका सञ्चालकविरुद्ध समेत मुद्दा दायर भएको छ ।

सुन तस्करीको पैसा लुकाउन सो क्यासिनोलाई प्रयोग गरिएको दाबीसहित प्रहरीले क्यासिनोकी सञ्चालक हङकङकी टेरेन्स सेविरुद्ध मुद्दा दायर भएको हो ।

सीआईबीले मंगरबार ६० जनाविरुद्ध मुद्दा दायर गर्दा त्यसमा वाल्डो क्यासिनो समेत परेको छ । गत वर्ष पनि सीआईबीले सो क्यासिनोमाथि छानविन गरेको थियो ।

तर, पैसाको बार्गेनिङ गरेर उन्मुक्ति दिएको विषयमा सीआईबीका तत्कालिन प्रहरीविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।

सो तस्करी गिरोहका नाइके एलेक्स भन्ने याउ पुचिङले ५२ हजार अमेरिकी डलर सो क्यासिनोबाट विदेश पठाएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

दावाजिन वाङ र दावा छिरिङले पनि सो क्यासिनोमा पैसा लैजाने गरेका थिए । कतिपय पटक बोरामा नै पैसा ओसारिएको समेत सिसिक्यामेरा फुटेजबाट देखिएको छ ।

क्यासिनोमा जुवा खेल्नका लागि आइडी बनाउने, पैसा जम्मा गर्ने तर त्यो पैसा जुवा नखेली हङकङमा रहेको उनीहरुको अर्को क्यासिनोबाट निकाल्ने गरेको समेत खुलेको छ ।

सुन तस्करीमा संलग्न चिनियाँहरु सो क्यासिनोको प्राइभेट कोठामा गएर बस्ने गर्दथे । त्यहाँ सुन तस्करीको डिल हुने गरेको सीआईबीको दाबी छ ।

क्यासिनो सञ्चालक टेरेन्स यसअघि नै हङकङ भागिसकेकी छिन् । सञ्चालक भागेपछि ठमेलको छायाँसेन्टरमा रहेको क्यासिनो पनि सञ्चालनमै छ ।

अहिले पनि सो क्यासिनो चिनियाँ अपराधीहरुको अखडा बनेको प्रहरी स्रोत बताउँछ ।

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्