जिविसको मिलेमतोमा माटो तस्करी


 


भक्तपुर, माघ ६

जिल्ला विकास समितिको मिलेमतोमा प्राकृतिक सम्पदा नै मासेर ताथलीमा माटो तस्करी भइरहेको छ ।  यसरी माटो तस्करी हुँदा जिविसले करोडौँ राजस्व गुमाएको छ । विसं २०७१ चैतमा अनुसन्धानका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँ सञ्चालित खानीसम्बन्धी फाइल लगेपछि रोकिएको स्वीकृतवाला खानी सञ्चालनमा आउन नसकेपछि जिविसले रु १४ करोडभन्दा बढी राजस्व गुमाएको छ ।

जिविसले अख्तियारले फाइल कब्जामा लिएको देखाउँदै नियमित रुपमा सञ्चालनको स्वीकृति दिएको बालुवा, पाँगो माटो र ढुङ्गा गरी २६ वटा खानी बन्द गराएपछि अहिले अवैध रुपमा माटो तस्करी बढेको छ । जिविसले स्वीकृत पाएका खानीलाई अख्तियारकै बहानामा सञ्चालनको अनुमति नदिई अवैध जग्गा प्लटिङ गर्ने गिरोहलाई माटो सस्तो मूल्यमा बिक्रीका लागि अनुमति दिएको खुल्न आएको छ ।

नगरकोट नगरपालिकाको ताथलीस्थित दराज कारखानाको पछाडि दैनिक तीनवटा डोजरले माटो झिक्ने र १० वटा टिपरले माटो ओसारिरहेका छन् । यहाँ मात्रै समिति नभई ताथलीको पाँच, सुडालको चार र दुवाकोटको पाँच ठाउँमा जग्गा प्लटिङको नाममा स–साना पहाड र ढिस्को भत्काउँदै अवैध रुपमा माटो बिना राजस्व इँटा भट्टाको नाममा बिक्री गरिँदै आएको छ ।

जिविसलाई जिल्लामा सञ्चालित इँटा भट्टाले वार्षिक रु ७५ हजार राजस्व बुझाएको छ । तर तर जिविसले अवैध रुपमा करोडौँ रुपैयाँको माटो बिक्री गर्न छुट दिएको पाइएको छ । आर्थिक प्रलोभनमा परेर जिविसले जग्गा प्लटिङ गर्ने गिरोहसँग राजस्व नलिई माटो बिक्री गर्न छुट दिएको बन्द रहेका खानी सञ्चालकको आरोप छ ।

ताथलीको माटो खानी सञ्चालक रत्नमान श्रेष्ठका अनुसार जिविसले वार्षिक रु पाँच करोड राजस्व बुझाउँदै आएको खानी बन्द गराएर व्यक्तिलाई अवैध रुपमा खानी सञ्चालन गर्न स्वीकृति दिएको छ । जिविसले जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त जगाती, प्रहरी प्रभाग व्यासी र नगरकोट नगरपालिकालाई त्यस क्षेत्रमा इँटा भट्टालाई माटो बिक्री गर्न रोक नलगाउन र माटो बोक्ने सवारी साधनलाई नियन्त्रणमा नलिन पत्राचार गरेको तथ्य खुलेको छ ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्