कर्मचारी फेरेर भए पनि भन्सार सुधार्न महराको निर्देशन


 


काठमाडौं, माघ ६

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।

अर्थमन्त्री महराले भन्सार सुधारका लागि जोड दिंदै भने-“एउटै कर्मचारी एक वर्षभन्दा बढी त्यहाँ राख्न भएन ।” वर्षौंदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहेको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिनुभएको उनका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए।

आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अवलम्बन गरेर भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले विशेष निर्देशन दिएका हुन् । विभागका महानिर्देशक ढुङ्गानाले अहिले कार्यरत कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु भएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराए । उनले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाट नै चुस्त दुरुस्त सेवा दिन योजना बनाइरहेको वताए ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्