आइडियल यमुना सहकारीका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती पक्राउ


 



काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक केबी उप्रेती पक्राउ परेका छन् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका सहकारी अभियन्ता उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो ।
३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् ।

राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो ।

सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।

उप्रेतीले संसदीय छानबिन समितिले मंगलबार सरोकारवालासँग गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे सुझाव दिएका थिए ।

एमालेको केन्द्रीय सहकारी विभाग सचिवसमेत रहेका उप्रेतीलाई पार्टीले केही महिनाअघि सो जिम्मेवारीबाट हटाएको थियो ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्