मकवानपुरमा करिब ३३ हजार बिरामीले लिए आयुर्वेद सेवा


 



मनहरी, १९ असार । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म करिब ३३ हजार बिरामीले आयुर्वेद सेवा लिएका छन् ।

कार्यालय प्रमुख डा ललिता पाण्डेले मकवानपुरमा त्यस अवधिमा ३२ हजार नौ सय ९१ जनाले सेवा लिएका जानकारी दिनुभयो । उहाँले पाँचवटा नागरिक आरोग्य सेवा केन्द्र र तीनवटा औषधालयबाट सेवा दिइएको बताउनुभयो । “कार्यालयमै आएर १७ हजार ६ सय ८०, हटिया आयुर्वेद औषधालयबाट दुई हजार दुई सय ३९, चुरियामाईबाट एक हजार तीन सय ८०, काँकडाबाट दुई हजार तीन सय र नागरिक आरोग्य सेवा केन्द्रबाट नौ हजार तीन सय ९२ जनाले सेवा लिएका छन् ”, डा पाण्डेले भन्नुभयो ।

चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ मा महिला स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण, पूर्वकर्म—पञ्चकर्म कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायत कार्यक्रम सञ्चालन गरेको थियो ।

चिकित्सालयले बहिरङ्ग सेवा, निःशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म, पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श, पथ्यआहार कार्यक्रम, ज्येष्ठ नागरिक तथा अकुपञ्चरलगायत सेवा प्रदान गर्दै आइरहेको छ । चिकित्सालयबाट २३ थरीका औषधि निःशुल्क रूपमा वितरण भइरहेका छन् ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्