सिआईबी भन्छ–आरजुलाई पक्राउ गर्ने हल्ला गलत


 


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सांसद समेत रहेकी नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न सिआईबीको टोलि परिचालन भएको भन्ने समाचारमा सत्यता नभएको जनाएको छ ।

सिआईबीले आज एक विज्ञप्ति जारी गर्दै केही अनलाईन मिडिया तथा पत्र पत्रिकाहरुमा आधारहिन तवरबाट सामाजमा भ्रम तथा अफवाह फैलाउने हेतुले कपोकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रशारण गरेको पाईएको भन्दै त्यस्ता आधारहिन र अपुष्ट समाचाहरुप्रति ब्यूरोको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सिआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘उपरोक्त सम्बन्धमा ग्पभचबब।अयm लगायतका केही अनलाईन मिडिया तथा पत्र पत्रिकाहरुमा आधारहिन तवरबाट सामाजमा भ्रम तथा अफवाह फैलाउने हेतुले बिगत केही दिनदेखि प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट बिभिन्न ब्यक्तिहरुको नाम समेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनि असत्य र भ्रामक बिषयबस्तु राखी ब्यूरो प्रमुख तथा ब्यूरोका सूचना अधिकारीसंग समेत प्रहरी अनुसन्धान तथा कारवाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफुखुशी आम–जनमानसमा भ्रम सृजना गरी, अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रशारण गरेको पाईएको हुँदा त्यस्ता आधारहिन र अपुष्ट समाचाहरु प्रति यस ब्यूरोको गम्भिर ध्यानाकर्षण भएको छ ।’

समाचार पूर्ण रुपमा असत्य भएको जानउँदै ब्यूरोले भ्रामक, कपोकल्पित र सत्यता परीक्षण नगरी प्रकाशन तथा प्रशारण गरीएका उक्त समाचारहरुको खण्डन गरेको पनि जनाएको छ ।

‘अपराध अनुसन्धान सम्बन्धमा भए गरेका प्रगति बिबरण तथा व्यक्ति पक्राउ सम्बन्धमा भए गरेका सूचनाहरु यस ब्यूरोले नेपाल प्रहरीले अबलम्वन गरेको मिडिया नीतिको अधिनमा रही सूचना अधिकारी मार्फत सूचना प्रेषित हुँदै आईरहेको छ । साथै कुनै अनुसन्धान तथा प्रहरी कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी भ्रामक, कपोकल्पित र आधारहिन समाचार प्रशारण तथा प्रकाशन नगरिदिनु हुन व्यूरो सम्पुर्ण सञ्चारकर्मीहरुमा अनुरोध गर्दछ ।’ ध्यानाकर्षण पत्रमा थप भनिएको छ ।

मंगलबार केही अनलाइनहरुले टीकापुर जग्गा घोटालामा जोडेर नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई पक्राउ गर्न बुढानीलकण्ठको देउवा निवासमा प्रहरीले धरपकडको प्रयास गरेको भन्दै समाचार प्रकाशित गरेका थिए ।

सोही धरपकडका कारण नै नेपाली कांग्रेस र एमालेलाई सत्ता सहकार्यको बाटो खुलेको समेत समाचारमा दावी गरिएको थियो ।

ब्यूरोले खण्डन गरेको समाचारमा भनिएको थियो–‘प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश भ्रमणमा रहेका बेलामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जनशक्ति परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न धरपकड गराएका थिए ।’

त्यसैगरी उक्त समाचारमा सीआईबीको टोली बुढानीलकण्ठमा गएर देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरेर घेराबन्दी गरेको र आरजु घरमा नभएको पक्का भएपछि सीआईबीको टोली रित्तै फर्किएको पनि उल्लेख गरिएको थियो ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्