‘चलचित्र साहित्यको बेग्लै विधा स्थापित गरिनुपर्ने’


 



काठमाडौँ, १८ असार । चलचित्र साहित्यको बेग्लै विधा स्थापित गरिनुपर्नेमा यस क्षेत्रका विज्ञहरुले जोड दिनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तरक्रियामा विज्ञहरुले समाज रुपान्तरणको निम्ति चलचित्रको महत्वपूर्ण भूमिका रहेकाले चलचित्र साहित्यको बेग्लै विधा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको हो ।

  त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक डा अशोक थापाले ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्य बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । चलचित्र कलाको आधुनिक माध्यम भएको उहाँको भनाइ छ । उहाँले समाज रुपान्तणरको निम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । थापाले प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुराहरु एकै पटक देखाउन सक्ने र पछिल्लो समय चलचित्र समाजको अभिन्न अङ्ग बन्न पुगेको धारणा राख्नुभयो ।

  वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको बताउनुभयो । अहिलेको अवस्थामा कला र साहित्यप्रतिको दृष्टिकोण बदल्न जरुरी भएको उहाँको भनाइ छ । कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्ने र चलचित्र पनि मानविय समवेदनासँग जोडिएको एउटा पाटो भएको उहाँको धारणा थियो । 

“चलचित्रको मुटु भनेको पटकथा हो । पटकथा चलचित्रको साहित्यको मूल अंश हो”, उहाँले भन्नुभयो, “विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरुको आधार साहित्य नै हो । त्यसैले नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान कम भएको परिप्रेक्ष्यमा यो कार्यक्रम उपयोगी हुनेछ ।”

  कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जना गर्ने प्रयत्न गरेको र यसलाई आगामी दिनमा निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चलचित्र प्रविधिसहितको साहित्य हो । चलचित्रमा साहित्यका सबै विधा समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ । आफ्नो कथा आफैँ भन्ने एउटा बलियो आधार बनेको छ चलचित्र, तसर्थ यसको कथा भन्ने शैली फरक छ ।”

 कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास उजागर गरे पनि चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रष्ट आउन नसकेको धारणा राख्नुभयो । उहाँले पछिल्लो समय नेपाली सिनेमा र साहित्यको सम्बन्ध बलियो हुँदै गएको बताउनुभयो ।

 अर्का टिप्पणीकर्ता सीतादेवी ढुङ्गानाले चलचित्रको मूल्याङ्कन प्राविधिक पक्षबाट मात्रै भएको र सैद्धान्तिक पक्षबाट यसको विश्लेषण हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले चलचित्र साहित्यका क्षेत्रमा काम नै नभएको अवस्थामा प्रतिष्ठानले एउटा सहकार्यको थालनी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चलचित्रसँग भाषा र प्रविधि जोडिएको हुँदा पाठ्य साहित्यभन्दा दृश्य साहित्य अझ प्रभावकारी माध्यम हो भन्ने मलाइ लाग्छ ।”

  नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको अवस्थामा यस किसिमको बहस सुरु हुनु सकारात्मक रहेको बताउनुभयो । “चलचित्र पनि साहित्य हो । एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्न सक्छ वा देखाउन सक्छ । समाज रुपान्तरणमा यसको प्रभावकारिता पनि छ”, उहाँले भन्नुभयो । 

साहित्य र चलचित्र क्षेत्रका विशिष्ट महानुभावको सहभागिता रहेको उक्त कार्यक्रममा कलाकार सुवास गजुरेल, चलचित्र पत्रकार विजयरत्न तुलाधार, नायिका विमला केसीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्