‘हाम्रा सहर गाउँभन्दा गएगुज्रेका भए’


 


किशोर थापा
सहरीविज्ञ
सहरी विकास भनेको क्रमबद्ध रुपमा हुने काम हो । पञ्चायत कालमा सीमित स्रोत र साधनले जुन लगानी गर्नुपथ्र्यो, त्यो लगानी हुन सकेन । सीमित बजेटमा तत्कालीन सरकारले गर्नुपथ्र्यो । निजी क्षेत्र शक्तिशाली थिएन । साधनसम्पन्न पनि भएको थिएन । निजी क्षेत्रको लगानी पनि कम थियो ।

अहिले निजी क्षेत्रको लगानी पनि बढेको छ । रेमिट्यान्सबाट पैसा पनि आएको छ । गाउँबाट सहरतर्फ जाने क्रम पनि बढेको छ । सहरी विकासका लागि त धेरै अवसर छन् । त्यो बेला जुन किसिमको योजना बनाइएको थियो त्यसैलाई विस्तार गर्दै लगेको भए ती सहरहरू विस्तार हुन्थे । विकास पनि हुन्थ्यो । तर त्यसो गरिएन ।

गाउँबाट सहरमा आउने मान्छेलाई बसोबास गर्न थप योजना नै बनेनन् । मान्छेहरू आए, आफ्नो तरिकाले बसे । बेच्नेले आफ्नो तरिकाले जग्गा बेचे । किन्नेले पनि आफ्नै तरिकाले किने । घर त मान्छेहरूले बनाए । तर सडक, ढल निकास, खानेपानी, खुल्ला स्थान अरु पूर्वाधार त सरकारले व्यवस्था गर्नुपर्छ नि ।

त्यो पूर्वाधार व्यवस्थित गर्ने एउटा योजना चाहिन्थ्यो । त्यस्तो कुरा हुन सकेन । मान्छे आए जहाँ– जहाँ बसुन्–बसुन् भनेपछि सहर चाहिँ एकदमै अस्तव्यस्त र श्रमिक क्षेत्रजस्तो मात्रै भयो । व्यवस्थित सहर भएन । मान्छे थुप्रिएको थुप्रियै भए । कहिल्यै व्यवस्थित हुनै सकेनन् ।

राम्रो अवसर र जीविकोपार्जनका लागि मानिस सहर पसेका हुन् । तर जीवनस्तर सुधार हुन सकेन । त्यहीँ शुद्ध पानीको अभाव, हावाको अभाव भयो । पर्याप्त उज्यालो नहुने, भेन्टिलेसन नहुने समस्या उस्तै । घाम ताप्न ठाउँ नहुने ।

बूढाबूढी, केटाकेटीका लागि खेल्ने पार्क नहुने । आखिरमा गाउँभन्दा गएगुज्रेको भयो सहर । कम्तीमा गाउँमा खुलमखुल्ला ठाउँ त थियो । बूढाबूढीहरू चौतारीमा बस्थे ।

जमिनप्रति मोह

जमिनमा आफ्नो इतिहास जोडियो । विरासत, संस्कृति जोडियो । धर्म जोडियो । बाउबाजेको पैतृक सम्पत्ति जोडियो । अहिले आएर जमिनको प्रतिफल दिन दुई गुणा, रात चौगुणाले आउन थाल्यो र मोह बढ्यो । त्यति पैसा त बैंकमा राख्दा ब्याजबाट र उद्योग व्यवसायको मुनाफाबाट नआउने भयो । आर्थिक र सास्कृतिक रुपले जमिन असाध्य महत्पूर्ण हुँदै गयो । यसले सहरी व्यवस्थापनमा थप जटिलता निम्तिरहेको देखिन्छ ।

स्थानीय तहको भूमिका

जनप्रतिनिधिलाई आफ्नो क्षेत्रभित्र रहेका सहर बनाउनुपर्छ भन्ने हुटहुटी त छ । तर, भावनामा भएर हुँदैन, कागजले बोल्नु प¥यो । हामीले व्यवस्थापन गर्नुपर्ने सहरी क्षेत्र हो, जुन सीमित हुन्छ । जसलाई सहजै व्यवस्थित गर्न सकिन्छ ।

अहिले हामीले गर्नुपर्छ भनेर कुनै पनि पालिकाले व्यवस्थित सहर बनाउने प्लान गरेको देखेको छैन । उहाँहरूको वार्षिक कार्ययोजना पुल–पुलेसा र बाटोघाटो बनाउनेमात्रै हुन्छ । तर, पाँच वर्षभित्र मेरो सहर यस्तो हुनेछ भन्ने योजना कहीँकतै पनि भेटिँदैन । मैले बुझेसम्म, कुनै नगरपालिकाले त्यस्तो गरेको छैन ।

गाउँमै मान्छे अड्याउने मूलतः दायित्व गाउँमा बसेर उन्नति गरिरहेकाहरूकै हुन्छ । उनीहरूले आफूले गरेका सफलताका कथा अरुलाई सुनाउनु प¥यो । म भर्खरै तनहुँको एउटा गाउँ पुगेर आएँ । त्यहाँ असल मानिसहरू कति छन्, कति ।

सञ्चारमाध्यमहरूले यस्ता सफलताका कथा प्रचारप्रसारमा ल्याउनु पर्छ । नकारात्मक कुराहरूमात्रै अनावश्यक रुपमा उछाल्नु हुन्न मिडियाले ।

शासन व्यवस्था पुरानै

हाम्रो शासन व्यवस्था महेन्द्रकै पालाको छ । खासै परिवर्तन भएको देखिँदैन । त्यो बेलाका ऐन, नियम संस्थागत प्रचलन उही छ । नयाँ पुस्ता आइसक्यो । जसले महेन्द्रलाई देख्दै देखेन । त्यस्तोमा जनअपेक्षा मिल्दैन । अब जनअपेक्षाअनुसारको नीति ल्याउनुप¥यो । निकै क्रान्तिकारी भएका नेता पनि पुरानै ह्याङमा देखिए ।

हामीलाई व्यवस्थित आइटी पार्क चाहिएको छ । अहिले नेपालमा बसेर अमेरिकाको सहरका काम गर्ने नेपाली युवा प्रशस्तै छन् । तिनीहरूलाई राम्रो क्याफे चाहियो । पार्क चाहियो । डान्सबार चाहियो । राम्रो कमाउँछन् तिनीहरूले । उनीहरूलाई सुहाउँदिलो दिल्ली, हैदाराबाद, बैङ्लोर जान्छन् । हामीलाई त्यस्तो एकै ठाउँमा सुविधासम्पन्न आईटी फ्रेन्डली पार्क चाहिएको छ ।

भएकै सहरलाई व्यवस्थित गर्ने

धेरै ठाउँमा सहर भनेर तथाकथित सहर भनेर बसेका छन् । तिनलाई उपेक्षा गर्न पनि सकिँदैन । जहाँ सहरहरू बसेका छन्, त्यसलाई सुधार गर्न भने जरुर सकिन्छ । सामाजिक भौतिक पूर्वाधारमा सुधार गर्ने । अलिकति मान्छेको जीवनस्तर सुधार गर्ने । ता कि मानिसहरू सहज रुपमा बसेर काम गर्न सक्छन् ।

अर्को कुरा– बाहिरबाट मान्छे आइरहेका छन् भने त्यसको छेउछाउमा पूर्वाधार विकाससहित नयाँ बस्ती विकास गरी एकै ठाउँमा ओरिरहेका मान्छेको चाप घटाउन सकिन्छ ।

नयाँ ठाउँमा पञ्चायतकालमा टीकापुर, कोहलपुरजस्ता सहर बसाउने समय अब छैन । तर भएकै बजार र सहरलाई व्यवस्थित रुपमा सुधार र विस्तार गर्दा राम्रो हुन्छ ।

यस कारण सहरभित्रै चाप

यातायातको कारणले भित्री बजारमा चाप थेगिनसक्नु छ । विदेशमा यातायातकै कारण भित्री बजार होइन, छेउमा आवासीय क्षेत्र रुचाउँछन् । म अमेरिकामै बस्दा पनि काम गर्ने ठाउँबाट आधा घण्टा समय लगाई सार्वजनिक सवारी साधान चढेर जान्थेँ ।

हामीलाई त यातायातले गर्दा हो नि एकैठाउँमा कोचिन बाध्य पारेको । जस्तो बानेश्वरमै चाप बढ्यो भने त्यहाँ मान्छेले खोजेअनुसारका सुविधासम्पन्न भवन बनाई एकै ठाउँमा धेरै मान्छे अटाउन सकिन्छ । स्वीमिङ पुल, पार्कसहितका ठूलठूला अपार्टमेन्ट बनाई सानो ठाउँमा धेरै मान्छे अटाउन सकिन्छ ।

पहिले रोपनी रोपनी जग्गा किने, अहिले जग्गा सीमित भयो । नयाँ सुविधा थपेर व्यवस्थित पार्क बनाउन सकिन्छ । सांस्कृतिक कार्यक्रम गर्न मिल्ने ठाउँ बनाउन सकिन्छ । कतिपय ठाउँमा आवासीय अपार्टमेन्ट बनाएर रिडेभलपमेन्ट गर्न सकिन्छ ।

भएकै सहरलाई मोर्डनाइज गर्न सकिन्छ । भएका ठाउँलाई उपेक्षा गरेर नयाँ ठाउँमा जाऊभन्दा भोट ब्याङ्क गुम्ने खतरा हुने भएकाले नेताहरू व्यवस्थित सहर बनाउने हिम्मत गर्न सक्दैनन् ।

घर र बाटो बन्दैमा सहर बन्दैन

कुनै एउटा सहरको भित्री टोलको गुगल म्याप हेर्नुस, इन्टरनेटबाट लाइभ नक्सा हेर्दा बाटो सकिएको देखिन्छ । तर, त्यो बाटोलाई निकाससहित जोडिदिने हो भने सवारी चाप हुँदैन । यसलाई नक्सामा देखिएका बीचमा टुंगिने बाटोलाई जोडिदिनुपर्छ । यसमा पालिकाले भूमिका खेल्न सक्छ ।

पालिकाले आह्वान गर्नुपर्छ कि– टोलमा बाटो जोड्न के– के गर्न सकिन्छ भनेर । त्यसमा जनतालाई सहभागिताका लागि आह्वान गर्नुप¥यो । जनता आफैं जागरुप भए बाटो छाडिहाल्छन् । कतिपय मुआब्जा दिनुप¥यो भने पनि सरकारले अघि बढेर सहरका भित्री बाटो फराकिलो बनाउने उपाय सोच्नुप¥यो । त्यसका लागि वडातहबाट यस्तो योजनामा रिसर्च गर्नुपर्छ ।

कति योजना लाग्छ, बजेटको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सोच्नुप¥यो । गर्न सकिने र नसकिने पहिल्यै थाहा हुन्छ । पालिकाको सहरी विकासले नक्सा पासमात्रै गरेर बस्ने होइन । घर बने पनि त्यहाँ कसरी बाटो पुग्छ, पानी बिजुली कसरी पुग्ला भनेर सोचिएको छैन । अहिले सहरमा बाटो बनेको छ । घर बनेको छ । तर, सहर बन्न सक्दैन ।

अहिले हाम्रोमा व्यवस्थित सहर बन्न सकेको छैन । घरको नक्सा बनाउने, सहरको नक्सा नबनाउने ? आपत पर्दा खुल्ला ठाउँ कहाँ हो ? पार्किङ गर्ने ठाउँ कहाँ हो ?

शक्तिकै आसपासमा बस्ती

पहिले राजदरबार वरिपरि बस्ती थियो । अहिले पनि त्यस्तै भएको छ । यो गलत हो । प्रजातन्त्रमा यस्तो नहुनुपर्ने । हाम्रोमा नेता कार्यकर्ता शक्तिशाली भए, जनता कमजोर । प्रजातन्त्रमा त जनता पो शक्तिशाली हुनुपर्ने । नेता शक्तिशाली भएपछि त्यसैको आसपासमा भीड बढ्यो ।

अब नेताहरूको परम्परागत शैलीमा राजनीति गर्नेहरूको तरिका चाहिँ बद्लिसक्यो । बजेटमै योजना शक्तिका अधाारमा छुट्याइन्छ । अनि नेताका पछि लाग्नु बाध्यता भइसक्यो । यो तरिका बदल्नुपर्छ । समान विकास हुनुपर्छ ।

गाउँबाट सहर आउने मान्छेले पहिले खोज्ने सुविधा भन्दा फरक भइसक्यो । पहिले दुई रोपनी जग्गा किनौला, स्वीमिङपुलमा खेलौँला भन्ने सपना पुरानो भइसक्यो । अब सहरका मापदण्ड बदल्नुपर्ने भइसक्यो । यो सहरको अर्बन शासन पद्धति बदल्नुपर्छ । अहिलेको नगरपालिकाको मोडेलले सहरको विकास गर्न सक्दैन ।

उसले के गर्छ भने वडा कार्यालयमा बजेट बाँड्छ । आएको बजेट कसरी बाँड्ने भन्नेमात्रै छ । व्यवस्थित बसोबासका लागि नगरपालिकाले आफ्नो काम गर्ने शैली र रणनीति बदल्नुपर्छ ।

हरियाली पहिलो सर्त

सहर भनेको घरमात्रै होइन । राम्रो सहरमा खुल्ला क्षेत्र कति छ भन्ने हो । खराब सहरमा घर ठूलठूला हुन्छन् भने खुला ठाउँ स–साना हुन्छन् । राम्रो सहरमा घर साना र मझौला तर खुला ठाउँ ज्यादा हुन्छन् । संसारका जुनसुकै ठाउँ जानूस् न, खुला ठाउँ असाध्य धेरै हुन्छन् । त्यस्तै सहरमा घरहरू बन्दै जान्छ, सडक पिच हुन्छ ।

यसले गर्दा सहरको तापक्रम बढ्छ । त्यस्तै सडक र घर बनेसँगै हरियाली सँगसँगै हुनुपर्छ । यहाँ सडकसँगै बिरुवा रोप्नुपर्छ भन्ने छैन । रोपे पनि भयो, नरोपे पनि भयो । विराटनगर गर्मी ठाउँमा त्यत्रो बाटो बनेको छ, तर रुख खोइ ? हरियाली अभिन्न अंग हो । त्यो छहारीमात्रै होइन भन्ने बुझ्न नसक्नु दुखद् पक्ष हो ।

ढल र नदी

हाम्रोमा नदी र खोलामा पानी हुँदा पनि र नहुँदा पनि समस्याग्रस्त बनाइएको छ । पानी कम हुँदा ढल गन्हाएर बसिनसक्नु हुन्छ भने वर्षामा भेलको समस्याले उठिवास लगाउँछ । ठोस र तरल फोहोरलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ । ठोसलाई राम्रो मल बनाएर पैसा आर्जन गर्न सकिन्छ ।

कुनै उद्योगका लागि कच्चा पदार्थ बनाउन सकिन्छ । त्यस्तै ढलको तरल फोहोरलाई उपयुक्त विधिबाट छानेर राम्रो पानी नदी खोलामा हालेर बगाउन सकिन्छ । जुन सामान्य काम हो । संसारका धेरै सहरमा भएका छन् । त्यस्तै प्रयोग हुने फोहोरलाई पुनः प्रयोग गर्ने कवाडमा दिन सकिन्छ । अर्थउपार्जन गर्न सकिन्छ, स्रोतमै व्यवस्थित गर्न सकिन्छ ।

यसले खोला नालामा पानी हुन्छ भने हामीले निकालेको फोहोरलाई मोहर बनाउन सकिन्छ । हामीले ढल चाहिँ बनाउँछौँ, तर प्रशोधन गर्ने योजना हुँदैन । बिनाप्रशोधनका ढल प्रणालीले हाम्रा खोला नाला सखाप भए । मान्छेले खोलामा फोहोर हाले बगाएर लान्छ भन्ने सोच्दो रहेछ । तर, एकठाउँमा त थुपार्छ । त्यसले थुप्रिएको ठाउँको वातावरण र जीवमाथि हुने असर असामान्य हुन्छ ।

नेपालकै कुनैकुनै ठाउँमा राम्रो काम पनि नभएको होइन । गर्नेले राम्रो पनि गरेका छन् । धनकुटा नगरपालिका र घोराही नगरपालिकाले फोहोर फालेकै स्थानमा बगैंचा बनाएर पैसा आर्जन हुने थलो बनाएका छन् । कतिले फोहोर प्रशोधन गर्ने उद्योग नै बनाए । गर्नेलाई कसैले छेकेको छैन । प्रयास भएका छन् । तर ती प्रयास स–साना छन् । यस्तो काम ठूलो स्केलमा हुनुप¥यो ।

जोखिममा तराईका बस्ती

अहिले जति पनि ठूला सहरहरू बसेका छन्, ती सबै तराई केन्द्रित छन् । अधिक महानगर, उपमहानगर र अधिकांश नगरपालिका तराई केन्द्रित हुँदा बस्ती एकीतृत भएको देखिन्छ । सहरी विकास मन्त्रालयको ६० प्रतिशत जति बटेज तराई केन्द्रित छ । त्यस्तै ठूला विमानस्थल, रेलमार्ग र ठूला योजना तराई केन्द्रित छन् ।

ग्रामिण पहाडी क्षेत्रबाट तराई केन्द्रित भएको यस बसाइ सराइले सानो ठाउँमा बढी मानिस थुप्रिँदै गरेको संकेत गर्छ, यो सबै सुविधा केन्द्रित भएर नै हो ।

तराईमा जम्मा १७ प्रतिशत भूभाग छ । त्यसमा जंगल, निकुञ्ज हटाउँदा सानो ठाउँमा अधिक बसोबास बढ्दै गएको हो । जुन सीमित जमिनले थेग्दैन । जमिन मुनिको पानी घटिरहेको छ । डुबान बढ्ने जोखिम छ ।

किनकि बस्ती बस्दा बनेका संरचनाको कारण पनि प्राकृतिक निकासका च्यानल थुनिन्छन् । बाटो बाँध जस्तो बन्छ । डुबान बढ्छ । जनघनत्व बढ्दा आगलागीको जोखिम उत्तिकै । त्यसले गर्दा हाम्रो ठूलो जनसंख्या उच्च जोखिममा छ ।

यसको अर्थ ठूलो जनसंख्या उच्च जोखिमको नजिक छ । सहरी विकासमा यो कुरा महत्वपूर्ण हो । सहरमा पूर्वाधार बनाउँदा यो कुरा विचार गर्नुप¥यो । विपत् प्रतिकार्य योजना बनाउनुप¥यो । बाढी, आगलागी कसरी कम गर्ने, हरियाली प्रवद्र्धन कसरी गर्ने भन्नेबारे हाम्रो सहरी विकासको क्षेत्रमा आएको छ । अहिल्यैदेखि यस्ता प्रतिकार्य योजना बनाऔँ ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्