अमेरिकाको ओहायोमा चक्र विज्ञान सम्पन्न


 



काठमाडौं, १७ असार । संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् ।

एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताउनु भयो । उहाँले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताउनुभयो । उहाँले आफूले बुझेकोभन्दा अध्यात्मको ज्ञान बृहत भएको अनुभूति भएको बताउनुभयो ।

डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान र साधनाको विधि पाएको बताउँदै यसले जीवनमा शान्ति मिलेको अनुभव सुनाउनु भयो ।

ध्रुवराज गिरीले कार्यक्रमले आफूमा आत्मबल, आध्यात्मिक शक्ति र जीवन प्रतिको उत्प्रेरणा जगाएको बताउनु भयो । उहाँले विभिन्न विधिहरूको उत्कृष्ट संयोजन भएको कार्यक्रमले हरेक मानिसको जीवन परिवर्तन गर्ने जनाउनुभयो ।
सन्तोष सुब्बाले कार्यक्रम जीवनउपयोगी भएको बताउँदै कार्यक्रममा सिकेको ज्ञान र विधि र अभ्यासलाई निरन्तरता दिन सके मानवको उद्धार हुने महसुस भएको बताउनुभयो ।

कार्यक्रममा सात दिनसम्म जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्माले हरेक मानिसभित्र रहेको चक्ररुपी ऊर्जा सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्नुभएको थियो ।
विश्व हिन्दु भुटानी संगठनको आयोजनामा अमेरिकाको ओहायो स्थित ओम सेन्टरमा जुन २३ देखि २९ सम्म चलेको चक्र विज्ञान सप्ताहमा अमेरिकाका विभिन्न राज्यबाट चार सयभन्दा बढी व्यक्तिको सहभागिता थियो ।

कार्यक्रम समापनमा अवसरमा जीवन विज्ञान अमेरिकाका अध्यक्ष शुशिल शर्मा, जीवन विज्ञान परिषद् अमेरिका सह–संयोजक रचना सुवेदी, डा.लक्ष्मिनारायण ढकाल, विश्व हिन्दु भुटानी संगठनका अध्यक्ष कमल धिमाल सहितका पदाधिकारीलगायतको उपस्थिती थियो ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्