प्रधानमन्त्री प्रचण्डसँगको ‘वान टु वान’ वार्तापछि बालुवाटारबाट बाहिरिए ओली


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको करिब चार घण्टा लामो वान टु वानपछि अध्यक्ष ओली बालुवाटारबाट बाहिरिएका छन् ।

उनीहरुबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको बताईएको छ ।

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएको विषय सार्वजनिक हुँदै आएका छन् ।

शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ ।

सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका एमाले स्रोतले बतायो ।

कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्