इलेक्ट्रोनिक सामानमा लुकाएर झण्डै ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष


 


काठमाडौं । ब्रेक-सु र इलेक्ट्रोनिक सामानमा लुकाएर नेपालमा झण्डै ३२ क्विन्टल सुन तस्करी भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालमा विभिन्न डमी कम्पनीहरूमार्फत उक्त अवैध सुन तस्करी भएको निष्कर्ष निकालेको हो ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी र अरु इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१.८९ केजी सुन तस्करी गरेको खुलेको छ।

अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू मध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी कुल ३ हजार १९४.६६८ केजी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ ।

सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो।

यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी गरिएको थियो।

सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ। सीआईबीका अनुसार गिरोहले करिब ३१ अर्ब रुपैयाँको सुन तस्करी गरेर भित्र्याएका छन्।

यसको हालको मूल्य ३० अर्ब ८२ करोड २२ लाखभन्दा बढी पर्छ । २ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो ।

हाल २० जना पक्राउ छन् भने २५ जना फरार रहेको सीआईबीले जनाएको छ। पहिलो चरणको अनुसन्धानमा २५ जना पक्राउ परेकामा २४ जना थुनामा छन्।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्