जर्नेल सिग्देलको कीर्ते प्रकरणले सेनामा संकट, भावी नेतृत्व चयन अन्योलमा


 


काठमाडौं । रथी अशोकराज सिग्देलको जन्ममिति कीर्ते प्रकरण लुकाउन खोज्दा नेपाली सेना झन्–झन् विवादमा फस्दै गएको छ । नेतृत्व चयनको समय नजिकिदै गर्दा सिग्देलमाथि छानविनको दबाब सर्वत्र बढेको छ ।

गत शुक्रबार संसदमा समेत यस विषयमा छानविनको माग उठेको थियो । सांसद प्रभु शाहले यस विषयमा रक्षामन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए ।

सञ्चार माध्यममा प्रमाणसहित समाचार आउँदा समेत छानविन नभएको भन्दै जवाफ मागिएको छ । रथी सिग्देलले नयाँ नागरिकताको प्रतिलिपि बनाएर उमेर घटाउनुका साथै शैक्षिक प्रमाणपत्रमा समेत कीर्ते गरेका छन् ।

जसको प्रमाण नै बाहिर आएपछि सेनाले यसको खण्डन गर्न सकेको छैन । यो प्रकरणलाई लुकाएर सिग्देललाई प्रधानसेनापतिमा अघि बढाउँदा सिंगो सैनिक संगठन झन्–झन बदनाम हुँदै गएको छ । यसले सेनाको भावी नेतृत्व चयनमा समेत समस्या हुने देखिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले आगामी २४ भदौमा अनिवार्य अवकाश पाउँदैछन् । सेनामा एक महिनाअघि नै अनिवार्य बिदा बस्नुपर्ने नियम छ । जसअनुसार २४ साउनमा शर्मा बिदामा बस्नेछन् ।

सोही दिनदेखि भावी प्रधानसेनापतिलाई निमित्तको जिम्मेवारी दिइन्छ । अब सैनिक नेतृत्वको तय गर्न एक महिना मात्र बाँकी छ ।

सिग्देलमाथि यती धेरै प्रश्न उठिसकेपछि पछिल्लो समय यस विषयमा पुर्नविचार गर्नुपर्ने विषयमा सेना र रक्षा मन्त्रालयमा छलफल हुन थालेको स्रोत बताउँछ ।

पछि प्रधानसेनापति भइसकेपछि कतै मुद्दा परेमा बर्खास्त हुनसक्ने अवस्था आउने भन्दै सिग्देलमाथि छानविन गर्नुपर्ने आवाज उठिरहेको छ ।

छानविन रोक्न सबैतिर दौडधुप

रथी सिग्देलको विषयमा गृहमन्त्रालयदेखि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालयसम्म उजुरी परेका छन् । नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा जन्ममिति हेरफेर गरिएको प्रमाणसहित उजुरी परेपछि प्रारम्भिक छानविन भइरहेको छ ।

तर, छानविन रोकाउन सिग्देल र उनी निकट समूह सक्रियताका साथ लागेको छ । अख्तियारमा दोस्रो पटक गत ११ असोजमा उजुरी परेको छ ।

सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा कीर्ते गरेर २०२३–१०–१९ बनाइएको कागजपत्रहरु बाहिर आइसकेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेको कागजपत्र बनाएर नागरिकताको प्रतिलिपि लिएका थिए ।

त्यसरी प्रतिलिपि बनाउँदा उमेर घटाइएको थियो । जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको स्रोत बताउँछ रुपन्देहीका मान्छेले जाजरकोटमा गएर प्रतिलिपि बनाउनुमै शंका गर्ने प्रशस्त आधार छन् ।

सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिन्छ । सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ ।

नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्नेमा छानविन रोकेर नेतृत्व दिन लागेपछि विवाद भएको छ ।

उनको नागरिकता नम्बर समेत फरक फरक छन् भने दुई वटै नागरिकता प्रयोग गरिरहेका छन् । प्रथम प्रतिलिपिको नम्बर ११३१ रहेको छ । जुन नागरिकता राष्ट्रिय परिचयपत्र बनाउँदा प्रयोग भएको छैन ।

अर्कोतर्फ विभिन्न कागजपत्रमा उनको जन्ममिति चार थरी भेटिएको छ । २०४० सालमा उनले उमेर १७ वर्ष भनेर नागरिकता लिएका थिए । त्यतीबेला जन्ममिति नराखी उमेर राख्ने चलन थियो ।यस्तो

अवस्थामा नागरिकता लिएको मितिकै आधारमा जन्ममिति तय हुन्छ । जसअनुसार उनको २०२३ साल असोज ९ गते जन्ममिति हुन्छ ।

त्यसको १८ वर्षपछि उनले जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकताको प्रतिलिपि निकालेका थिए । पहिलो नागरिकता हराएको भन्दै उनले सो प्रतिलिपि निकालेका हुन । जसमा पहिलो पटक नागरिकता लिएको मिति नै कीर्ते गरिएको छ ।

२०४०–०४–२९ मा पहिलोपटक नागरिकता लिइएको भनिएको छ तर जन्ममिति भने २०२३-१०-१९ उल्लेख गरिएको छ । रुपन्देहीको मान्छे जाजरकोटमा बसाई सरेर नागरिकता बनाउनु र जन्ममिति पनि हेरफेर हुनुले नियोजित भएको भन्दै हाल विभिन्न निकायले छानविन गरिरहेका छन् ।

उनका शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति १९ चैत २०२१ रहेको छ । पछि सरकारी ढड्डाहरुमै जन्ममिति सच्याएको प्रष्ट देखिन्छ । सेनाको भर्नामा उमेरहद कटेपछि यसरी उमेर नै सच्याइएको आशंका गरिएको छ ।

यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए । दुई साताअघि मात्र महासेनानी दिरेन्द्र मल्ललाई यस्तै कैफियतमा बर्खास्त गरिएको थियो । तर, अर्का व्यक्तिलाई भने सेनाको नेतृत्व सुम्पिन लागेको विषयमाथि सर्वत्र प्रश्न उठेका छन् ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्