नाउपाको दलको नेताबाट रञ्जिता ‘आउट’, गंगारामलाई जिम्मेवारी


 


काठमाडौं, असार १७ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन् ।

दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाउँदै गंगाराम चौधरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी आजैविहान १० बजे संसद् सचिवालयलाई गराउने तयारी गरिएको छ ।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् । रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन् ।

त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन् । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद छ ।

यसअघि पनि संरक्षक चौधरीले रञ्जितालाई दलको नेताबाट हटाउन खोजेका थिए । अध्यक्ष रञ्जिता सरकारमा जाने तयारी भइरहँदा बहुमत सदस्यले दलको नेता फेरबदल गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्