भारतले जित्यो टि–२० विश्वकप उपाधि


 


काठमाडौं । आइसीसी टि–२० विश्वकप २०२४को उपाधि भारतले जितेको छ ।

वेष्ट इन्डिनको बार्बाडोसमा शनिबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टि–२० विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।

भारतको यो दोस्रो टि–२० विश्वकप उपाधि हो । २००७ को पहिलो संस्करण जितेयता भारतले उपाधि जित्न सकेको थिएन ।

अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । तर पहिलो बलमा नै डेविड मिलर आउट भए । लङ अफ बाउण्ड्रीमा सूर्यकुमार यादवले सानदार क्याच गर्दै उनलाई पेभेलियनको बाटो देखाएका थिए ।

दोस्रो बलमा कागिसो रबाडाले चौका प्रहार गरे । तेस्रो बलमा १ बाइ रन आयो । चौथो बलमा केशव महाराजले १ रन लिए । त्यसपछि हार्दिक पान्ड्याले वाइड बल गरे । २ बलमा ९ रन चाहिएकोमा पाँचौं बलमा रबाडा आउट भए । सो विकेट पछि खेल दक्षिण अफ्रिकाको हातबाट टाढा गएको थियो ।

दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन । जसप्रित बुम्राहको दोस्रो ओभरमा ओपनर रिजा हेण्ड्रिक्स ४ रन बनाएर बोल्ड भए । तेस्रो ओभरमा कप्तान एईडन मार्क्रम ४ रन बनाएर अर्शदीप सिंहको शिकार बने ।

५८ रनको साझेदारी पछि तेस्रो विकेट अक्षर पटेलले लिए । नवौ ओभरमा उनले ट्रिस्टन स्टब्सलाई बोल्ड गरेका थिए । स्टब्सले २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रन बनाए ।

चौथो विकेटका रुपमा क्विन्टन डि कक ३१ बलमा ३९ रन बनाएर १३औ ओभरमा आउट भए । उनलाई आर्शदीप सिंहले आउट गरेका थिए । क्लासेन २७ बलमा २ चौका र ५ छक्का सहित ५२ रन बनाएर १७औ ओभरको पहिलो बलमा पेभेलियनको बाटो लागे । १८औ ओभरमा बुम्राहले मारको यान्सनलाई २ रन बनाएको अवस्थामा बोल्ड गरे ।

भारतका लागि हार्दिक पान्ड्याले ३ विकेट लिए । बुम्राह र अर्शदिप सिंहले समान २ विकेट लिए । अक्षर पटेलको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाए । सुरुवाती ३ विकेट सस्तैमा गएपछि उनले इनिङ सम्हाल्दै राम्रो इनिङ खेलेका थिए ।

इनिङको दोस्रो ओभरमा नै भारतले सुरुवाती दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमै बायाँ हाते स्पिनर केशव महाराजलाई दक्षिण अफ्रिकाले बलिङमा ल्याएको थियो । सो ओभरमा उनले भारतका उच्च लयमा रहेका कप्तान रोहित शर्मा र ऋषभ पन्तलाई पेभेलियन फर्काएका थिए । रोहितले ५ बलमा ९ रन बनाउँदा ऋषभ भने शून्यमा आउट भएका थिए ।

सुर्यकुमार पाँचौं ओभरमा रबाडाको शिकार बने । सर्ट बलमा उनी हेनरिक क्लासेनद्वारा ३ रन बनाएको अवस्थामा क्याच आउट भएका थिए । चौथो विकेटका लागि विराट र अक्षर पटेल मिलेर ७२ रनको साझेदारी गरे । सो साझेदारी अक्षर १४औं ओभरमा रनआउट हुँदा टुटेको थियो ।

अक्षर ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन बनाएर क्विन्टन डीककद्वारा रनआउट भएका थिए । कोहली पाँचौं विकेटको रूपमा मार्को यानसनको शिकार बने ।

शिभम दुबे १६ बलमा २७ रन बनाएर अन्तिम ओभरको चौथो बलमा आउट भए । रवीन्द्र जडेजा पनि २ रन बनाएर इनिङको अन्तिम बलमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ ओभरमा २३ रन खर्चिदै २ विकेट लिए । यस्तै एनरिक नोर्टजेले पनि ४ ओभरमा २६ रन दिएर २ विकेट नै लिए । मार्को यानसन र कागिसो रबाडाले १–१ विकेट लिए ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्