गाएक सागरले नयाँ स्वरूपमा ल्याए ‘न मैले लेखेँ, न उनले लेखिन्’


 



काठमाडौँ, १५ असार । गायक हिमाल सगरले ‘न मैले लेखेँ, न उनले लेखिन्’ गीतलाई एक्काइस वर्षपछि नयाँ स्वरूपमा ल्याउनु भएको छ । आज यहाँ जमलस्थित विश्वज्योति सिनेप्लेक्समा पत्रकार सम्मेलनमा उहाँले गीतको श्रव्यदृश्य सार्वजनिक गर्नुभयो ।

गायक सागरले गीतको अडियोसँगै श्रव्यदृश्यलाई आधुनिक शैलीमा तयार गरिएको बताउनुभयो । “नयाँ स्वरूपमा पनि उही मिठास कायम गरेका छौँ । प्राविधिक रुपमा श्रव्यदृश्यलाई बलियो बनाइएको छ । एक्काइस वर्ष अगाडि चाहेर पनि गर्न नसकेका काम यसपटक म सहित मेरो समूहले गरेका छौँ” उहाँले भन्नुभयो ।

एक्काइस वर्षअगाडि उक्त गीतको एक लाख ५० हजारभन्दा बढी क्यासेट नै बिक्री भएको स्मरण गर्दै गायक सागरले सोही गीतमार्फत गायनमा स्थापित भएर आफूले नेपालबाहेक ६५ राष्ट्रमा साङ्गीतिक भ्रमण गरिसकेको बताउनुभयो । धेरै दर्शक तथा स्रोताले सोही गीत रुचाएको उहाँको भनाइ छ । सागरले भन्नुभयो,“मलाई चिनाउने र स्थापित गराउने गीतलाई धेरै वर्ष पनि मैले चाहेजस्तो बनाएको छु । यो पुस्ताबाट पनि गीतलाई उत्तिकै माया प्राप्त हुनेछ भन्नेमा आशावादी छु ।” 

सार्वजनिक गीतमा मानस केसीको शब्द रहेको छ भने योगेशकाजी शाहले एरेन्ज गर्नुभएको छ । श्रव्यदृश्यमा गायक सागरसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गर्नुभएको छ ।

अभिनेत्री अधिकारीले यो गीत सुन्ने बित्तिकै अभिनय गर्ने निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो गीत मैले स्कूले जीवनमै सुनेकी थिएँ । रेडियोमा यो गीतको फर्माइस पनि गरेकी छु । स्कुल र कलेजमा गुनगुनाएको गीतमा अभिनय गर्न पाउँदा निकै हर्षित छु ।”

गीतको श्रव्यदृश्यलाई निकेश खड्काले निर्देशन गर्नुभएको छ । उहाँले लोकप्रिय गीतलाई नयाँ स्वरूपमा तयार गर्दा श्रव्यदृश्यमा बढी मेहनत गरिएको बताउनुभयो ।  “गीत लोकप्रिय भइसकेकाले श्रव्यदृश्यमा यसलाई सरल र सुन्दर बनाउने प्रयास गरेको छु । गीतको शब्दमा भनिएको भावनालाई दृश्यमा उतारेको छु । गीतमा देखाइको कथासँग अहिलेको पुस्ता जोडिनुहुन्छ भन्नेमा आशावादी छु”, निर्देशक खड्काले भन्नुभयो ।  

प्रकाशित मिति: १५ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्