बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत
बागलुङ १५ असार । बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद रु दश/दश हजार नगदसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।
सुन्तला खेतीतर्फ बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्का, तरकारी खेतीतर्फ बागलुङ नगरपालिका–९ तित्याङका पदमबहादुर खत्री, स्याउ र आलु खेतीतर्फ ढोरपाटन–९ स्थित उत्तरगङ्गा अर्गानिक एग्रोका चिरनकुमार घर्ती र बागलुङ नगरपालिका–१२ स्थित कालीगण्डकी दूग्ध उत्पादक सहकारीका कृष्णप्रसाद लाछिानेलाई सम्मान गरिएको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।
तरकारी, फलफूल र दूधलगायत उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृति किसानहरुको भनाइ छ । सम्मानले कृषीकर्ममा लाग्न थप उत्साहित बनाएको कृषक खत्रीले बताउनुभयो ।
सुन्तला खेतीबाट एक वर्षमा रु पाँच लाख आम्दानी गर्दै आउनुभएका अनन्तबहादुर खड्काले पनि उचित मूल्य र बजारीकरणमा रहेका समस्या समाधानमा सरकारले सहजीकरण गरे थप सहज हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले कृषकको पीरमर्का बुझेर राज्यले नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति: १५ असार २०८१, शनिबार